दफा ३५
तथ्याङ्क भण्डारको सुरक्षा
(१) तथ्याङ्क भण्डारलाई व्यवस्थित र सुरक्षित राख्नको लागि देहाय बमोजिमको एक तथ्याङ्क सुरक्षा समिति रहनेछः- (क) मन्त्रालयको सचिव - अध्यक्ष (ख) सचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय - सदस्य (ग) महानिर्देशक - सदस्य-सचिव

(२) उपदफा (१) “बमोजिमको तथ्याङ्क सुरक्षा समितिले तथ्याङ्क भण्डारमा रहेका व्यक्तिका सम्पूर्ण विवरण यस ऐनको प्रयोजनको लागि एकै पटक प्राप्त गर्नु पर्ने अवस्था आएमा सो समितिका सबै सदस्यको अनिवार्य उपस्थितिमा तथ्याङ्कको प्राप्ति गर्नु पर्नेछ।

(३) विपद्‌ परेको वा प्रणालीमा आएको प्राविधिक गडबडीको परिणाम स्वरूप विभागमा रहेको प्राथमिक तथ्याङ्क भण्डारबाट नियमित कार्य सम्पादन हुन नसकेमा उपदफा (१) बमोजिमको तथ्याङ्क सुरक्षा समितिले विभाग वा सरकारी डाटा केन्द्रमा रहेको अतिरिक्त तथ्याङ्क भण्डारण (ब्याकअप) बाट कार्य सुचारू गर्न आवश्यक व्यवस्था मिलाउनेछ।

(४) उपदफा (१) बमोजिमको तथ्याङ्क सुरक्षा समितिले परिचयपत्र तथा पञ्जीकरण व्यवस्थापन प्रणालीमा तथ्याङ्क भण्डारको सुरक्षण, व्यक्तिगत घटना दर्ता अभिलेखको सुरक्षण, परिचयपत्रको सुरक्षण, नेटवर्क स्तरमा अपनाइने सुरक्षण, एप्लिकेसन स्तरमा अपनाइने सुरक्षण लगायतका प्राविधिक सुरक्षणको लागि आवश्यक व्यवस्था मिलाउन लगाउनेछ।

(५) तथ्याङ्क भण्डारमा रहेको कुनै व्यक्तिको वैयक्तिक विवरणमा कुनै निकाय वा व्यक्तिले पहुँच प्राप्त गरेको विवरण सम्बन्धित व्यक्तिले तोकिए बमोजिम हेर्न पाउने गरी आवश्यक व्यवस्था मिलाउन सकिनेछ।

(६) उपदफा (१) बमोजिमको समितिको बैठक वर्षमा कम्तीमा दुई पटक बस्नु पर्नेछ। समितिको बैठक सम्बन्धी अन्य कार्यविधि समिति आफैंले निर्धारण गरे बमोजिम हुनेछ।